काठमाडौँ,०७ वैशाख । वैशाख महिनाको पहिलो साता (१ देखि ६ गतेसम्म) देशभर विभिन्न प्रकारका विपद्का घटनामा परी ७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सो अवधिमा कुल १४६ वटा विपद् घटना दर्ता भएका छन्।
प्राधिकरणका अनुसार पछिल्ला ६ दिनमा भएका घटनामा हावाहुरी, लेक लाग्ने, डुंगा पल्टिने, आगलागी र चट्याङ जस्ता कारणले ७ जनाले ज्यान गुमाएका छन्। तीमध्ये ३ जनाको मृत्यु हावाहुरीका कारण भएको छ भने चट्याङ र आगलागीबाट २ जनाको ज्यान गएको छ। साथै, लेक लागेर र डुंगा पल्टिँदा १–१ जनाको मृत्यु भएको उल्लेख छ।
यस अवधिमा १ जना बेपत्ता भएका छन् भने ३७ जना घाइते भएका छन्। विभिन्न घटनाबाट करिब १४५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको प्राधिकरणले जनाएको छ।
विपद् घटनाको विवरणअनुसार सबैभन्दा धेरै २० वटा वन डढेलोका घटना दर्ता भएका छन्। त्यस्तै, १३ वटा आगलागी, १२ वटा सर्पदंश, ७ वटा जनावरको आक्रमण, ४ वटा चट्याङ र ३ वटा हावाहुरीका घटना भएका छन्।
यसका अतिरिक्त लेक लाग्ने, डुंगा पल्टिने, भारी वर्षा र बाढीसम्बन्धी घटनासमेत रिपोर्ट भएका छन्।
प्राधिकरणले मौसम परिवर्तनसँगै विपद् जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

