सुर्खेत,०७ वैशाख । पेट्रोलियम पदार्थमा गरिएको हालको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै कुलमान घिसिङ ले सरकारसँग पुनर्विचार गर्न आग्रह गरेका छन्। उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्षसमेत रहेका घिसिङले कर्णाली प्रदेशका लागि इन्धनमा विशेष सहुलियत आवश्यक रहेको बताएका हुन्।
वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमका क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले कर्णालीको भौगोलिक विकटताका कारण यहाँ जीवनयापन स्वाभाविक रूपमा महँगो हुने उल्लेख गरे। “यस्तो अवस्थामा इन्धनमा मूल्यवृद्धि गर्नु नागरिकमाथि थप भार थोपर्ने काम हो,” उनले भने।
घिसिङले कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि पनि सस्तो इन्धन आवश्यक रहेको बताउँदै डिजेल, पेट्रोल र ग्यासमा वृद्धि नगर्न सरकारलाई सुझाव दिए। उनले छिमेकी भारत मा समेत मूल्य स्थिर रहेको सन्दर्भ उठाउँदै नेपालमा मूल्यवृद्धि गर्नु उपयुक्त नभएको धारणा राखे।
सरकारलाई काम गर्ने वातावरण बनाउन आफूहरूले सकारात्मक सहयोग गर्ने उल्लेख गर्दै उनले विगतमा नेपाल विद्युत् प्राधिकरण को नेतृत्वमा रहँदा कर्णालीको विद्युतीकरण र प्रसारण लाइन विस्तारका लागि करिब ३५ अर्ब रुपैयाँ बराबरको लगानी सुनिश्चित गरिएको दाबी गरे।
उनका अनुसार १३२ केभी प्रसारण लाइनको काम जुम्लासम्म विस्तार भइरहेको छ। साथै, छोटो समयमा पार्टी गठनका कारण अघिल्लो निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकिए पनि आगामी चुनावमा उनेपा सशक्त शक्तिका रूपमा उदाउने र वडा तहसम्म सङ्गठन विस्तार गर्ने उनले बताए।

