काठमाडौं,०१ वैशाख । नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरो ले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा देशभर १८ हजार ३२६ जना साइबर ठगीको सिकार भएका छन्।
आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार प्रदेशगत रूपमा मधेश प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ, जहाँ ९३६ जना ठगीमा परेका छन्। त्यसपछि कोशी, लुम्बिनी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि उल्लेख्य संख्यामा नागरिक ठगीको सिकार बनेका छन्।
उमेर र लैङ्गिक आधारमा हेर्दा बालबालिकादेखि वयस्कसम्म सबै समूह प्रभावित भएका छन्। महिलाहरू र पुरुषहरूको संख्या उच्च देखिएको छ भने लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय पनि ठगीको सिकार बनेका छन्।
साइबर ठगीका लागि सामाजिक सञ्जाल र डिजिटल भुक्तानी प्लेटफर्महरू मुख्य माध्यम बनेका छन्। विशेषगरी Facebook मार्फत सबैभन्दा धेरै घटना भएका छन्। यसबाहेक TikTok, WhatsApp, Instagram, साथै eSewa र Khalti जस्ता डिजिटल वालेट तथा बैंक खाताहरू समेत दुरुपयोग भएका छन्।
साइबर ब्युरोले सर्वसाधारणलाई अनलाइन कारोबार गर्दा सतर्क रहन, अपरिचित लिंक नखोल्न, व्यक्तिगत तथा बैंकिङ विवरण गोप्य राख्न र शंकास्पद गतिविधि देखिए तुरुन्त उजुरी दिन आग्रह गरेको छ।

