spot_img

पानी अभावले ओझेलमा मिथिलाको ‘जुडशीतल’ पर्व

spot_img
spot_img

महोत्तरी,०१ वैशाख । नयाँ वर्षको सुरुवातसँगै उत्साहका साथ मनाइने मिथिलाको परम्परागत जुडशीतल पर्व यस वर्ष पानी अभावका कारण ओझेलमा परेको छ। हिलो खेलेर सहकालको कामना गर्ने परम्परा भए पनि अधिकांश क्षेत्रमा पानीका स्रोत सुक्दा पर्वको रौनक हराएको स्थानीयहरू बताउँछन्।

चैत महिनामै इनार, पोखरी र स–साना जलाशय सुक्न थालेपछि हिलोको अभाव भएको छ। महोत्तरीका गौशाला, बर्दिबास र भङ्गाहा क्षेत्रका बासिन्दाले नयाँ वर्षमै खानेपानीको समस्या झेल्नुपरेको गुनासो गरेका छन्। स्थानीयका अनुसार, हिलो नपाउँदा जुडशीतल अब परम्परामा मात्र सीमित हुने खतरा बढ्दै गएको छ।

स्थानीय बासिन्दा विश्वनाथ सिंहका अनुसार, “पहिला नयाँ वर्षमा हिलो खेलेर सहकालको कामना गरिन्थ्यो, तर अहिले पानीकै अभावले त्यो सम्भव छैन।” त्यस्तै, किसानहरू पनि पानी नहुँदा खेतीपाती प्रभावित हुने चिन्तामा छन्।

विशेषज्ञहरूका अनुसार, हिउँदमा पर्याप्त वर्षा नहुनु, चुरे क्षेत्रको क्षति, नदी तथा खोलाबाट अत्यधिक उत्खनन र वन विनाशले पानीका मुहान सुक्दै गएका छन्। चुरे क्षेत्र संरक्षणमा ध्यान नदिँदा समस्या झन् जटिल बन्दै गएको उनीहरूको भनाइ छ।

स्थानीय तहदेखि संघीय सरकारसम्म समन्वय गरेर जलाधार संरक्षण, पुनर्भरण पोखरी निर्माण तथा पानी व्यवस्थापनमा दीर्घकालीन योजना ल्याउनुपर्ने माग बढ्दै गएको छ। अन्यथा, मिथिलाको सांस्कृतिक पहिचान बोकेको जुडशीतल जस्ता पर्वहरू क्रमशः हराउँदै जाने चिन्ता व्यक्त गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय