काठमाडौं,०३ वैशाख । मधेस प्रदेशकी उपसभामुख रुवि कुमारी ठाकुर ले दाइजो प्रथाविरुद्ध स्पष्ट र कडा कदम चाल्दै दहेज लेनदेन हुने विवाहमा सहभागी नहुने घोषणा गरेकी छन्।
विवाहको सिजन सुरु भएसँगै आफूलाई आएका निमन्त्रणापत्रहरूमा ‘दहेज मुक्त विवाह’ सम्बन्धी सन्देश नदेखिएको उल्लेख गर्दै उनले अबदेखि यस्तो प्रथा अपनाइने कुनै पनि विवाह समारोहमा नजाने निर्णय सार्वजनिक गरेकी हुन्।
सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै ठाकुरले दाइजो प्रथा अझै समाजमा गहिरोसँग जकडिएको भन्दै चिन्ता व्यक्त गरिन्। उनका अनुसार दाइजो लिनु वा दिनु मात्र होइन, त्यस्तो व्यवहारलाई समर्थन गर्ने गतिविधिमा सहभागी हुनु पनि सामाजिक तथा कानुनी रूपमा गलत अभ्यास हो।
उनले दाइजो प्रथाले महिलाको आत्मसम्मान, समानता र अधिकारमा प्रत्यक्ष असर पार्ने उल्लेख गर्दै यसको अन्त्यका लागि व्यक्तिगत तहबाटै पहल आवश्यक रहेको बताइन्। “सामाजिक परिवर्तन भाषणले होइन, व्यवहारले सुरु हुन्छ,” भन्ने सन्देश उनले दिएकी छन्।
उपसभामुख ठाकुरले अबदेखि विवाहका निमन्त्रणापत्रमै ‘दहेज मुक्त विवाह’ र ‘दाइजो लिनु–दिनु अपराध हो’ भन्ने सन्देश समावेश गर्न सर्वसाधारणलाई आग्रह गरेकी छन्।
उनले यस्तो स्पष्ट प्रतिबद्धता नभएका विवाह समारोहमा आफू उपस्थित नहुने बताउँदै समानता र सम्मानमा आधारित नयाँ विवाह संस्कार बसाल्न सबैलाई एकजुट हुन आह्वान गरेकी छन्।

