spot_img

बजेट अभावले धनुषाका अधिकांश सडक योजना अधुरै

spot_img
spot_img

बीरगन्ज,०३ वैशाख । मधेश प्रदेश सरकारको महत्वाकांक्षी ‘एक निर्वाचन क्षेत्र ५ किलोमिटर सडक’ योजना धनुषामा चार वर्ष बितिसक्दा पनि पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा स्थानीय पूर्वाधार विकास प्रभावित बनेको छ।

पूर्वाधार विकास कार्यालय धनुषा का अनुसार धनुषाका ८ मध्ये ७ प्रादेशिक निर्वाचन क्षेत्रका सडक योजना अझै अधुरै छन्। आर्थिक वर्ष २०७८/७९ मा तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल को नेतृत्वमा सुरु गरिएको योजनाअन्तर्गत विभिन्न सडक खण्डहरू निर्माणाधीन अवस्थामै रोकिएका छन्।

हालसम्म जमुनियाँ–बनिनियाँ–हारसर सडक मात्रै सम्पन्न भएको छ भने अन्य सडक खण्डहरू बजेट अभावका कारण अलपत्र परेका छन्।

कार्यालयका सूचना अधिकारीका अनुसार बजेट सुनिश्चित नभएसम्म ठेक्का प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न नसक्ने अवस्था रहेको छ। कुल ५ करोड ५५ लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिए पनि अहिलेसम्म करिब ८९ लाख रुपैयाँ मात्रै खर्च भएको छ भने ठूलो रकम भुक्तानी हुन बाँकी छ।

चालु आर्थिक वर्षमा समेत सीमित बजेट विनियोजन हुँदा निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेको जनाइएको छ।

सडक निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासीले वर्षायाममा हिलो र सुख्खा समयमा धुलोको समस्या भोग्नुपरेको गुनासो गरेका छन्। यसले आवतजावत मात्रै होइन, स्थानीय आर्थिक गतिविधिमा समेत असर परेको उनीहरूको भनाइ छ।

लामो समयसम्म योजना अधुरै रहनुले प्रदेश सरकारको बजेट व्यवस्थापन र कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय