डोजर अभियानसँगै बीरगन्ज प्रभावित: सडक विस्तारले बिजुली काटिँदा खानेपानी संकट

spot_img

बीरगन्ज,०६ वैशाख । बीरगन्जमा मुख्य सडक विस्तारका लागि आइतबार बिहानैदेखि डोजर अभियान सुरु भएसँगै जनजीवन प्रभावित बनेको छ। अभियानका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा शहरका विभिन्न क्षेत्रमा खानेपानी संकट देखिन थालेको छ।

त्रिभुवन राजपथअन्तर्गत पर्ने मुख्य सडकलाई फराकिलो बनाउने लक्ष्यसहित मापदण्डभित्र परेका घरटहरा हटाउन डोजर परिचालन गरिएको हो। बिहानैदेखि सुरु भएको अभियानले सडक आसपासका संरचना हटाउने कामलाई तीव्रता दिएको छ।

सडक डिभिजन कार्यालय हेटौडा को समन्वयमा सञ्चालन भइरहेको यस अभियानमा सडक विभागका ९ वटा भारी उपकरण (डोजर, जेसीबी र एक्साभेटर) तथा वीरगञ्ज महानगरपालिका का थप ४ वटा डोजर प्रयोग गरिएको छ।

डोजर अभियानकै क्रममा विद्युतीय संरचना सार्नुपर्ने भएपछि विद्युत् सेवा अवरुद्ध भएको हो। जसका कारण पानी आपूर्ति प्रणालीसमेत प्रभावित बनेको स्थानीयले बताएका छन्। बिहानदेखि धारामा पानी नआउँदा सर्वसाधारणले दैनिक उपभोगमा कठिनाइ भोग्नुपरेको गुनासो गरेका छन्।

सरोकारवालाहरूका अनुसार सडक विस्तारले दीर्घकालीन रूपमा यातायात व्यवस्थापन सहज बनाउने र बढ्दो सवारी चापलाई व्यवस्थित गर्ने लक्ष्य राखिएको छ। लामो समयदेखि रोकिएको यो आयोजना अहिले पुनः सक्रिय रूपमा अघि बढाइएको जनाइएको छ।

स्थानीय प्रशासनको सुरक्षा व्यवस्थापनबीच सञ्चालन भइरहेको डोजर अभियानले वीरगञ्जको मुख्य सडक क्षेत्रको स्वरूप परिवर्तन गर्ने अपेक्षा गरिएको छ, तर तत्कालका लागि भने यसले नागरिकलाई असहज अवस्था सामना गर्न बाध्य बनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय