सिरहा,०८ वैशाख । सिरहा कारागार मा फेरि तनाव उत्पन्न भएको छ। कारागारको आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास गरेको आरोपमा २३ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल का अनुसार केही दिनअघि केही कैदीले चौकीदार प्रेम चौधरीलाई जबरजस्ती हटाउँदै कारागारको आन्तरिक व्यवस्थापन आफ्नो नियन्त्रणमा लिन खोजेका थिए। सो घटनापछि सम्भावित झडप र असुरक्षाको अवस्था सिर्जना हुन सक्ने आकलन गर्दै २३ जनालाई नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखिएको हो।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार नियन्त्रणमा लिइएका कैदीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ। सम्बन्धित निकायसँग अनुमति लिएर उनीहरूलाई अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको उनले बताए।
सिरहा कारागारमा यसअघि पनि गुटबन्दी, कुटपिट तथा आन्तरिक झडपका घटनाहरू हुँदै आएका छन्। व्यवस्थापनमा कमजोरी र सुरक्षाकर्मीको मिलेमतोसमेतको आरोप लाग्दै आएको छ, जसका कारण कारागार बारम्बार तनावग्रस्त बन्दै आएको देखिन्छ।
यसअघि माघ २६ गते गरिएको संयुक्त सुरक्षा अपरेशनका क्रममा कारागारभित्रबाट कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरिएको थियो। उक्त हतियार प्रभावशाली कैदी इन्द्रजित यादवसँग सम्बन्धित रहेको प्रहरीको दाबी छ। सोही अपरेशनमा यादवसहित १३ जनालाई नियन्त्रणमा लिई अन्य कारागारमा स्थानान्तरण गरिएको थियो।
यादवको स्थानान्तरणपछि कैदीबन्दीहरूले दुई दिनसम्म विरोध प्रदर्शन समेत गरेका थिए। पछिल्ला घटनाक्रमले सिरहा कारागारको सुरक्षा, व्यवस्थापन र अनुशासनमाथि गम्भीर प्रश्न उठाइरहेको छ।

