बीरगन्ज,०८ बैशाख । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत नम्बर १२ गण हेडक्वाटर बाराले आफ्नो १९औं स्थापना दिवसको अवसरमा रक्तदान तथा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ। मंगलबार गण परिसरमा सम्पन्न कार्यक्रममा तीन महिलासहित ३७ जनाले रक्तदान गरेका छन्।
कार्यक्रम प्रादेशिक अस्पताल कलैया को रक्त सञ्चार शाखाको सहकार्यमा आयोजना गरिएको थियो। गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल ले रक्त सञ्चार शाखाका इन्चार्ज राजाबाबु गुप्तालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।
रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीका विभिन्न पदाधिकारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। रक्त सञ्चार शाखामा रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम आयोजना गरिएको गणपति सिलवालले जानकारी दिए।
यसै अवसरमा गण परिसरमा वातावरण संरक्षणलाई ध्यानमा राख्दै अमला, अम्बा, गुलमोहर लगायत विभिन्न जातका १५० भन्दा बढी बिरुवा रोपिएको पनि जनाइएको छ। कार्यक्रममा सशस्त्र प्रहरीका अधिकारी, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

