बीरगन्ज,०८ वैशाख । पर्सा प्रहरीले ६ केजीभन्दा बढी गाँजा जस्तो देखिने लागूऔषधसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरू भारतको बिहार राज्य अन्तर्गत पश्चिम चम्पारण जिल्लाका बासिन्दा हुन्। पक्राउ पर्नेमा ३५ वर्षीय सफि अहम्द, ३३ वर्षीय विनय ठाकुर, ३० वर्षीय मुकिम मियाँ र २८ वर्षीय महम्द एकवाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार उनीहरूको साथबाट प्लास्टिक बाहेक ६ केजी १८ ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको हो।
प्रहरीका अनुसार बीरगन्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट क्षेत्रमा नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले भारत–नेपाल सीमा क्षेत्र हुँदै आवतजावत गर्ने पैदल यात्री तथा सवारी साधन जाँच गर्ने क्रममा उनीहरूलाई संकास्पद अवस्थामा फेला पारेको थियो।
प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू बीरगन्जबाट रक्सौलतर्फ पैदल जाँदै थिए। कानुनी प्रक्रिया अनुसार गरिएको खानतलासीका क्रममा उनीहरूको पेट तथा छातीको भागमा रातो प्लास्टिकले बेरी खैरो डोरीले बाँधेर लुकाइछिपाइ राखिएको लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
हाल पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखी लागूऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

