काठमाडौं,०८ वैशाख । मौसम पूर्वानुमान महाशाखाले आगामी बिहीबार (वैशाख १०) सम्म देशका विभिन्न क्षेत्रमा तातो दिन तथा ‘हिट वेभ’ (तातो लहर) को सम्भावना रहेको जनाएको छ। महाशाखाले नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसमविद् रोजन लामिछाने का अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही जिल्लाहरू—कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासी—मा मध्यम स्तरको तातो लहर देखिन सक्ने अनुमान गरिएको छ।
यस्तै, मधेश प्रदेशका सबै भूभाग, बाग्मती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्र, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भेग, खोच र उपत्यकाहरूमा पनि अत्यधिक गर्मी हुने सम्भावना रहेको छ। अन्य क्षेत्रहरूमा समेत तापक्रम क्रमशः बढ्दै जाने महाशाखाको पूर्वानुमान छ।
तातो हावा र ‘हिट वेभ’ का कारण थकान, कमजोरी, अत्यधिक तिर्खा, टाउको दुख्ने, खुट्टा बाउडिने, रिङ्गटा लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने तथा वान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने मौसमविद् लामिछानेले बताएका छन्।
महाशाखाले गर्मीबाट जोगिन घरभित्र वा शीतल स्थानमा बस्न, चर्को घाममा बाहिर ननिस्कन, आवश्यक परे टाउको छोप्न वा छाता प्रयोग गर्न, बिहान वा साँझको समयमा मात्र बाहिरी काम गर्न, हल्का कपडा लगाउन तथा प्रशस्त पानी र फलफूलको रस सेवन गर्न सुझाव दिएको छ।
स्वास्थ्यमा समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यक सल्लाह लिन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।

