रामेछाप,०८ वैशाख । सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएको छ। उनी खुर्कोट स्थित प्रहरी हिरासतमा रहेका थिए।
प्रहरीका अनुसार वैशाख ३ गतेदेखि हिरासतमा रहेका विकले थुनुवा कक्षको भेन्टिलेसनमा कपडाको पासो प्रयोग गरी ज्यान दिएको प्रारम्भिक जानकारी छ। घटनाका बेला उनी थुनुवा कक्षमा एक्लै रहेका बताइएको छ।
काठमाडौंमा सवारी चालकको रूपमा कार्यरत विकले खोटाङकी एक किशोरीसँग गत चैत २८ गते प्रेम विवाह गरेका थिए। युवती नाबालिग रहेको भन्दै उनका परिवारले काठमाडौं मा जबरजस्ती करणीको उजुरी दिएपछि विक पक्राउ परेका थिए र पछि खुर्कोट प्रहरीको जिम्मा लगाइएको थियो।
प्रहरीले साँझ करिब ६ बजे घटनाबारे थाहा पाएको जनाउँदै तत्काल उनलाई सुनकोसी सामुदायिक अस्पताल लगिएको र थप उपचारका लागि सिन्धुली अस्पताल पुर्याइएको जनाएको छ। चिकित्सकले त्यहाँ उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि परिवारलाई जानकारी गराइएको थियो। हाल शव सिन्धुली अस्पतालमै राखिएको छ।
मृतकका परिवारले घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रहरीको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

