काठमाडौं,०८ वैशाख । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड ले आगामी वैशाख १७ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर खुला गर्ने तयारी गरेको हो।
कम्पनीले धितोपत्र बोर्डबाट ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर कुल २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ।
स्थानीय बासिन्दाहरूलाई अति प्रभावित र अन्य प्रभावित गरी दुई समूहमा विभाजन गरेर फरक–फरक अनुपातमा शेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ।
यस्तै, सर्वसाधारणका लागि छुट्याइएको कोटामध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आरक्षित गरिएको छ। श्रम स्वीकृति प्राप्त नेपालीहरूले सी–आस्वा प्रणाली तथा ‘मेरो शेयर’ मार्फत आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका स्थानीयले सोलुखुम्बुको सल्लेरीस्थित माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंक का शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, धितोपत्र बोर्डबाट अनुमति प्राप्त अन्य आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने म्याद छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गतेसम्म रहनेछ। आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि भने छिटोमा वैशाख ३१ गतेदेखि जेठ १८ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ।

