काठमाडौं,११ वैशाख । काठमाडौं महानगरपालिका ले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत महानगरभित्रका सबै विद्यालय आगामी वैशाख १५ गतेदेखि सञ्चालन हुने निर्णय गरेको छ।
महानगरको शिक्षा विभागले वैशाख १० मा जारी सूचनाअनुसार नेपाल सरकारको निर्णय र काठमाडौँ उपत्यका मेयर्स फोरमको अनुरोधलाई ध्यानमा राख्दै विद्यालय सञ्चालनको मिति तय गरिएको हो। नयाँ शैक्षिक सत्रको सुरुआत, शिक्षक–विद्यार्थीमा परेको प्रभाव र विद्यालय व्यवस्थापनको तयारीलाई विश्लेषण गरेर यस्तो निर्णय गरिएको जनाइएको छ।
महानगरको शिक्षा तथा स्वास्थ्य समितिको निर्णयअनुसार सो मितिबाट पठनपाठनसहित सम्पूर्ण शैक्षिक गतिविधि नियमित रूपमा सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिइएको छ।
शिक्षा विभागले विद्यालय, विद्यालय निरीक्षक, स्रोत शिक्षक तथा अन्य सरोकारवालालाई निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ। साथै, सूचना प्रवाह प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय गर्न पनि अनुरोध गरिएको छ।
विभागीय प्रमुख नमराज ढकाल द्वारा जारी सूचनामा अभिभावक, विद्यार्थी र शिक्षकहरूलाई तोकिएको मितिदेखि विद्यालय सञ्चालनमा सक्रिय सहभागिता जनाउन अपिल गरिएको छ।


