काठमाडौं,२४ वैशाख । पूर्वसञ्चारमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाइएको आरोप लगाएका छन्। केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत आफ्नो नाम जोडेर ‘फेक न्युज’ प्रचार गरिएको भन्दै उनले कानुनी उपचार खोज्ने बताएका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै खरेलले हाल आफू कार्यक्रमका सिलसिलामा स्विजरल्याण्डमा रहेको जानकारी दिएका छन्। उनले कुनै पनि गैरकानुनी काममा संलग्न नरहेको दाबी गर्दै आफूले गल्ती नगरेकाले डराउने कुनै कारण नभएको उल्लेख गरेका छन्।
“यस्ता भ्रामक र कपोलकल्पित आरोपले मेरो चरित्र तथा राजनीतिक भविष्यमा असर पार्ने प्रयास सफल हुँदैन,” उनले लेखेका छन्। साथै, गलत सूचना फैलाउनेविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएका छन्।
खरेलले सर्वसाधारणलाई अपुष्ट समाचार र सामाजिक सञ्जालमा फैलाइएका सामग्रीप्रति सचेत रहन आग्रह गरेका छन्।


