बीपी राजमार्गमा यात्रा नगर्न आग्रह

spot_img

काठमाडौँ,१३ वैशाख ।  लगातारको वर्षापछि रोशी खोलामा आएको बाढीले बीपी राजमार्ग को काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले विभिन्न स्थानमा बनाइएका अस्थायी डाइभर्सन बगाएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रभावित क्षेत्रहरूमा चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, कालढुंगा, माम्ती र सिन्धुलीको आँपघारी लगायत स्थान पर्छन्। शनिबार दिउँसो परेको वर्षापछि जोखिम बढेपछि सुरक्षा निकायले तत्काल सडक बन्द गराएको हो।

जिल्ला प्रहरी कार्यालय धुलिखेल का अनुसार काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटारसम्मको सडकखण्ड दिउँसो ३:३० बजेदेखि पूर्ण रूपमा बन्द गरिएको छ। प्रहरी नायव उपरीक्षक रविन विष्टले सम्भावित दुर्घटना रोक्नका लागि अर्को सूचना नआउँदासम्म सो मार्ग प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

गत वर्षको बाढीपहिरोले पनि यसै क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएपछि खोलामै अस्थायी सडक र डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको थियो। तर, पछिल्ला वर्षामा पटक–पटक डाइभर्सन बगाउँदा समस्या झन् जटिल बन्दै गएको छ।

हाल राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरूलाई काभ्रेको काभ्रेभन्ज्याङ र सिन्धुलीको नेपालथोकमा रोकेर राखिएको छ। वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा अघि सडक अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायले सबैलाई अनुरोध गरेका छन्।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार क्षतिग्रस्त क्षेत्रमा स्थायी सडक निर्माणको काम जारी रहे पनि बाढीपहिरोका कारण चुनौती थपिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय