वैशाखमै एसइई नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी

spot_img

बीरगन्ज,१३ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख महिनाकै अन्तिम साताभित्र सार्वजनिक गर्ने लक्ष्यसहित अन्तिम चरणको तयारी अघि बढाएको छ।
उत्तरपुस्तिका परीक्षणको काम लगभग सम्पन्न भइसकेको छ भने अहिले विद्यार्थीहरूको प्राप्ताङ्क कम्प्युटर प्रणालीमा प्रविष्ट गर्ने कार्य तीव्र गतिमा भइरहेको बोर्डले जनाएको छ। प्राप्ताङ्क इन्ट्री सकिएपछि डाटा रुजु (जाँच) गरिनेछ, र त्यहाँ कुनै त्रुटि नदेखिएमा नतिजा तुरुन्तै सार्वजनिक गरिनेछ।

अघिल्ला वर्षहरूमा नतिजा प्रकाशन गर्न करिब तीन महिना लाग्ने गरे पनि यसपटक बोर्डले विशेष योजना अपनाउँदै एक महिनाभित्रै नतिजा ल्याउने लक्ष्य लिएको हो। त्यसका लागि उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्ने व्यवस्था गरिएको थियो र पर्याप्त जनशक्ति परिचालन गरिएको थियो।

गत चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा देशभरका १,९६६ केन्द्रबाट कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा र २ लाख ५४ हजार ८०१ छात्र रहेका छन्। साथै, जापानमा रहेको एक केन्द्रबाट २३ जना परीक्षार्थीले परीक्षा दिएका थिए।

बोर्डको यो प्रयासले नतिजा छिटो सार्वजनिक भई नयाँ शैक्षिक सत्र समयमै सुरु गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय