बीरगन्ज,१३ वैशाख । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–५ मा गण्डक नहर छेउस्थित गुठीको अतिक्रमित करिब ५ बिघा जमिन खाली गराउने अभियान तीव्र रूपमा अघि बढाइएको छ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा सञ्चालन गरिएको उक्त अभियानमा बिहानैदेखि ७ वटा डोजर प्रयोग गरी संरचना हटाउने काम गरिएको हो। गाउँपालिकाका अध्यक्ष जयवसन यादवका अनुसार लामो समयदेखि अतिक्रमणमा परेको उक्त क्षेत्रमा रहेका करिब ३८० घरटहरा हटाइसकिएको छ।
उनले बताएअनुसार गाउँपालिकाले पछिल्ला दुई वर्षदेखि सो जमिन खाली गराउने प्रयास गर्दै आएको भए पनि सफल हुन सकेको थिएन। केही दिनअघि मन्त्री महतो स्वयं स्थल निरीक्षणमा पुगेपछि योजना बनाएर अभियान अघि बढाइएको हो।
अहिले पनि बाँकी संरचना हटाउने काम जारी रहेको जनाइएको छ। अभियानलाई प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका करिब ३०० सुरक्षाकर्मी परिचालन गरिएको छ।
यसैबीच, सोही गाउँपालिकाको मधुवन क्षेत्रमा रहेको गुठीको थप २९ बिघा अतिक्रमित जमिनसमेत खाली गराउने प्रक्रिया अघि बढाइएको मन्त्री महतोले जानकारी दिएका छन्।
यस अभियानलाई स्थानीय प्रशासनले सार्वजनिक सम्पत्ति संरक्षण र दीर्घकालीन व्यवस्थापनतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ।

