बीरगन्ज,१३ वैशाख । सीमावर्ती भारतीय बजार रक्सौल बाट क्वारेन्टिन जाँचबिनै तरकारी र फलफूल लुकीछिपी बीरगन्ज भित्रिने क्रम बढ्दै गएको पाइएको छ। खुला सीमानाकाको फाइदा उठाउँदै दैनिक साइकलमार्फत ठूलो परिमाणमा ताजा तरकारी नेपाल भित्र्याइँदै आएको स्थानीय स्रोतले जनाएका छन्।
पर्सा र बारासँग जोडिएका विभिन्न खुला नाका—विशेष गरी विश्रामपुर गाउँपालिका, नगवा, इनर्वा लगायतका क्षेत्र—बाट बिहानैदेखि ‘क्यारिङ’ गर्ने साइकल चालकहरूले तरकारी ओसार्ने गरेका छन्। यसरी भित्रिने तरकारीमा कुनै पनि प्रकारको क्वारेन्टिन जाँच नहुँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
उपभोक्ता हित संरक्षणसँग सम्बद्ध अभियन्ता अजित भुजेलका अनुसार खुला सीमानाकाको कमजोर निगरानीका कारण यस्ता गतिविधि मौलाउँदै गएका छन्। “छपकैया, इनर्वा, विश्रामपुरजस्ता नाकाबाट दैनिक ठूलो परिमाणमा तरकारी भित्रिन्छ, तर सम्बन्धित निकायको प्रभावकारी निगरानी देखिँदैन,” उनले भने।
यता सशस्त्र प्रहरी बल नेपाल र स्थानीय प्रशासनको भूमिका पनि प्रश्नको घेरामा परेको छ। सीमाक्षेत्रमा सुरक्षा व्यवस्था रहे पनि अवैध आयात रोक्न प्रभावकारी कदम नचालिएको स्थानीयको गुनासो छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने कानुनी प्रक्रिया पूरा नगरी भित्र्याइने कृषि उपजमाथि नियन्त्रण गरिने बताएका छन्। “भन्सार प्रक्रिया र क्वारेन्टिन जाँच पूरा गरेका वस्तुमात्र आयात गर्न पाइन्छ,” उनले स्पष्ट पारे, “अनुगमनलाई कडाइ गरिनेछ।”
त्यसैगरी, सशस्त्र प्रहरी बल नम्बर १३ गणका प्रमुख एसपी मोहनबहादुर क्षेत्रीका अनुसार पर्साभन्दा बढी बाराको सीमावर्ती क्षेत्र हुँदै अवैध तरकारी वीरगन्ज बजारसम्म पुग्ने गरेको देखिएको छ।
खुला सिमानाको संवेदनशीलता र कमजोर अनुगमनका कारण बढ्दो यस्तो अवैध आयातले स्थानीय बजार, राजस्व प्रणाली र जनस्वास्थ्य तीनै क्षेत्रमा असर पारिरहेको सरोकारवालाहरूको भनाइ छ।

