मधेश प्रदेशका आठै जिल्लामा एकैसाथ वृहत् रक्तदान कार्यक्रम

spot_img

जनकपुर,१३ वैशाख । “रक्तदान जीवनदान” भन्ने मूल नारासहित आज मधेश प्रदेशका आठै जिल्लामा एकैसाथ वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

ब्लड फर नेपालको आयोजनामा सञ्चालन गरिएको यस अभियानलाई “मधेश महारक्तदान कार्यक्रम” नाम दिइएको छ। बिहान ७ बजेदेखि सुरु भएको कार्यक्रममा प्रदेशका विभिन्न १० स्थानमा एकैपटक रक्त संकलन भइरहेको आयोजकले जनाएको छ।

कार्यक्रमअन्तर्गत जनकपुरधामस्थित नेपाल पत्रकार महासंघको प्रांगण, महोत्तरीको जलेश्वर, बर्दिबास र सोनमा गाउँपालिका–१ मा रक्तदान भइरहेको छ। त्यसैगरी सिरहाको नवराजपुर–१ सोनवर्साचौक, सप्तरीको राजविराजस्थित जेसिज भवन, सर्लाहीको मलंगवा–२ बाल मन्दिर, रौतहटको गौर, बाराको कलैया स्थित देवकीलाल धर्मशाला तथा पर्साको वीरगञ्जस्थित घण्टाघर नजिकै ब्राइट पब्लिक स्कुलमा पनि उत्साहजनक सहभागिता देखिएको छ।

संस्थापक सरोजकुमार महतोका अनुसार, बेलाबेला देखिने रगत अभावलाई न्यूनीकरण गर्नुका साथै नागरिकमा रक्तदानप्रति सकारात्मक सोच विकास गर्ने उद्देश्यले यस्तो एकीकृत कार्यक्रम आयोजना गरिएको हो।

उनले भने, “रक्तदान महादान हो भन्ने सन्देश फैलाउँदै नियमित रक्तदानको संस्कार बसाल्नु अहिलेको आवश्यकता हो।”

आयोजकका अनुसार कार्यक्रममार्फत ठूलो संख्यामा रगत संकलन हुने अपेक्षा गरिएको छ, जसले प्रदेशभरका अस्पतालहरूमा हुने आकस्मिक अभावलाई पूर्ति गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय