काठमाडौँ,१४ वैशाख । राष्ट्रिय परीक्षा बोर्ड (एन.ई.बी) द्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा आज (सोमबार) देखि देशभर सुरु भएको छ ।
यस परीक्षामा यस वर्ष देशभरबाट ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका छन्। बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्ष गत वर्षको तुलनामा परीक्षार्थीको संख्यामा ठूलो गिरावट आएको छ । गत वर्ष ५ लाख ११ हजार ५२५ जनाले परीक्षा दिएकामा यस वर्ष ९२ हजार ७२५ जना घटेर ४ लाख १८ हजार ८ मा सीमित भएको छ ।
बोर्डले यस गिरावटलाई ‘सकारात्मक’ रूपमा लिएको छ । अघिल्ला वर्षहरूमा नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजामा देखिएको सुधारका कारण आंशिकतर्फका विद्यार्थीको संख्यामा उल्लेख्य कमी आएको बोर्डको विश्लेषण छ । गत वर्षको नतिजाअनुसार ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए, जसले गर्दा थप विद्यार्थीहरू यस वर्ष आंशिक परीक्षा दिनुपर्ने अवस्थाबाट मुक्त भएका हुन् ।
यस वर्ष सहभागी हुने कूल परीक्षार्थीमध्ये नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ जना र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी रहेका छन् । बोर्डका अनुसार यस वर्ष २०७९ सालयताका विद्यार्थीले आंशिक परीक्षा दिँदै छन् । यसबाहेक, विदेशस्थित जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले यसपटक कक्षा १२ को परीक्षा दिइरहेका छन् । बोर्डले देशभर १ हजार ४२१ वटा परीक्षा केन्द्र तोकेको छ । परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुने तालिका छ । परीक्षार्थीहरूलाई मर्यादित र अनुशासित भएर परीक्षामा सहभागी हुन बोर्डले आग्रह गरेको छ ।
देशभरका परीक्षा केन्द्रहरूमा सुरक्षा व्यवस्था र आवश्यक जनशक्ति परिचालन गरिसकिएको बोर्डका अधिकारीहरूले जनाएका छन् । नतिजाको गुणस्तरमा सुधार आइरहेको सन्दर्भमा यस वर्षको परीक्षाले थप उत्साहजनक नतिजा दिने बोर्डको अपेक्षा छ ।

