मालीका रक्षामन्त्री कामाराको आत्मघाती बम आक्रमणमा मृत्यु

spot_img

काठमाडौं,१४ वैशाख । पश्चिम अफ्रिकी देश मालीका रक्षामन्त्री साडियो कामारा को आत्मघाती ट्रक बम आक्रमणमा परी मृत्यु भएको छ। राजधानी बामाको नजिकै रहेको उनको निवासमा भएको आक्रमणमा उनीसहित परिवारका तीन सदस्यको पनि ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आक्रमण जिहादी विद्रोही र पृथकतावादी समूहहरूले संयुक्त रूपमा गरेको बताइएको छ। सरकारी टेलिभिजनले समेत रक्षामन्त्रीको मृत्यु पुष्टि गरिसकेको छ।

यसैबीच, विद्रोहीहरूले सैन्य जुन्ताका प्रमुख आसिमी गोइटा को घरलाई पनि निशाना बनाएका थिए। सुरक्षा जोखिम बढेपछि उनलाई सुरक्षित स्थानमा सारिएको छ।

अल–कायदासँग सम्बद्ध जिहादी समूह र तुआरेग पृथकतावादी संगठनहरूले देशका विभिन्न भागमा एकैसाथ ठूला आक्रमणहरू गरेका छन्। विशेष गरी उत्तरी सहर किडाल मा विद्रोहीहरूको प्रभाव बढ्दै गएको बताइएको छ।

विद्रोही समूहले किडाल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ भने रुसी भाडाका सैनिकहरू त्यहाँबाट पछि हट्न सहमत भएको पनि उल्लेख गरिएको छ।

स्थिति तनावपूर्ण बनेपछि सरकारले देशभर उच्च सतर्कता अपनाएको छ। राजधानी बामाकोसहित विभिन्न क्षेत्रमा रात्रिकालीन कर्फ्यु जारी गरिएको छ।

सन् २०२० मा सैन्य ‘कू’ मार्फत सत्ता सम्हालेको मालीमा सुरक्षा सुधार गर्ने प्रतिबद्धता जनाइए पनि विद्रोही हिंसा अझै नियन्त्रणमा आउन सकेको छैन।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय