नेकपाको केन्द्रीय संयोजन समिति बैठक आज

spot_img

काठमाडौं,१४ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको महत्वपूर्ण बैठक आज सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ। पार्टीको सांगठनिक संरचना टुंग्याउने र आगामी महाधिवेशनको दिशा तय गर्ने मुख्य एजेन्डासहित बैठक बस्न लागेको हो।

बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपाल द्वारा तयार पारिएको विशेष प्रस्ताव प्रस्तुत गरिनेछ। यसअघि वैशाख ३ गतेको बैठकमा उठेका सुझाव र जिज्ञासालाई समेटेर उक्त प्रस्ताव तयार गरिएको हो।

नेता प्रकाश ज्वाला का अनुसार आजको बैठकले नेताहरूको कार्यविभाजन, विभागीय जिम्मेवारी र संगठनात्मक संरचनामा ठोस निर्णय लिनेछ। पार्टी एकीकरणपछि सबैभन्दा चुनौतीपूर्ण मानिएको जिम्मेवारी बाँडफाँटमा ‘सन्तुलन’ कायम गर्न इन्चार्ज–सहइन्चार्ज मोडेल अपनाइने तयारी गरिएको छ।

यस मोडेलअनुसार पूर्व माओवादी केन्द्र र एकीकृत समाजवादीबीच शक्ति सन्तुलन मिलाइनेछ। कुनै प्रदेश वा विभागमा एक पक्षले इन्चार्ज पाए अर्को पक्षले सहइन्चार्ज पाउने व्यवस्था लागू गरिनेछ। ३२ वटा विभागमा पनि यही प्रणाली लागू गरिने बताइएको छ।

बैठकमा १२५ सदस्यीय केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्यसमिति पूर्णता दिने प्रस्तावमाथि छलफल हुनेछ। साथै, तल्लो तहका संगठनहरूको समायोजन जिम्मा प्रदेश समितिलाई दिने तयारी गरिएको छ।

पार्टीले छ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राख्दै वडा तहदेखि नै अधिवेशन प्रक्रिया अघि बढाउने तयारी समेत गरेको छ। साथै, आजको बैठकले महाधिवेशनको मिति र कार्यदिशा टुंग्याउने अपेक्षा गरिएको छ।

यसैबीच, चुनावी समीक्षा प्रतिवेदन अनुमोदन र जनवर्गीय संगठनहरूको एकता प्रक्रियालाई गति दिने विषयमा पनि छलफल हुनेछ। लामो समयदेखि देखिएको सांगठनिक अन्योल अन्त्य गर्दै पार्टीलाई पूर्ण आकार दिने र आगामी निर्वाचन केन्द्रित रणनीति तय गर्ने विश्वास नेताहरूले व्यक्त गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय