काभ्रेपलान्चोक,१४ वैशाख । लगातारको वर्षाका कारण बिपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। शनिबारदेखि सुरु भएको वर्षाले सडकका विभिन्न स्थानमा क्षति पुर्याएपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार आइतबार बेलुकासम्म राजमार्ग खुलाउने प्रयास गरिए पनि अपराह्न पुनः वर्षा भएपछि जोखिम बढेकाले अस्थायी डाइभर्सन निर्माण कार्य रोकिएको छ। कार्यालय प्रमुख सुमन योगेशले वर्षा नरोकिएसम्म काम अघि बढाउन कठिन हुने बताए।
उनका अनुसार सोमबार बिहानदेखि मौसम अनुकूल भएमा डाइभर्सन निर्माणलाई निरन्तरता दिई आवागमन सञ्चालन गर्ने योजना रहेको छ। आइतबार आठ स्थानमा डाइभर्सन बनाएर सवारी चलाउने प्रयास गरिए पनि चारसयबेँसी क्षेत्रमा वर्षा भएपछि काम अधुरै रोकिएको हो।
शनिबार दिउँसो वर्षा सुरु भएसँगै सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले राजमार्ग बन्द गराएको थियो। जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार नमोबुद्धको कटुन्जेदेखि रोशीको मङ्गलटारसम्मको सडकखण्डमा रोशी खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ।
बाढीका कारण करिब चार किलोमिटर क्षेत्रमा बनाइएको अस्थायी डाइभर्सन बगाएको छ। चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुङ्गा, डालाबेँसी, बुलढुङ्गा र माम्ती क्षेत्रमा सडकमा क्षति पुगेको छ।
राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र परेका थिए। आइतबार करिब ६ सय यात्रुलाई झोलुङ्गे पुल हुँदै तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाको भकुण्डेसम्म उद्धार गरिएको प्रहरीले जनाएको छ। स्थानीयको सहयोगमा यात्रुहरूलाई खानेपानी र खाद्य सामग्री समेत उपलब्ध गराइएको थियो।
उल्लेखनीय छ, गत वर्षको बाढीपहिरोले यसै सडकखण्डमा ठूलो क्षति पुर्याएपछि अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो। हाल सो क्षेत्रमा स्थायी सडक निर्माणको काम जारी रहेको छ।

