कांग्रेसमा आजै सर्वसम्मत संसदीय दलको नेता चयन गर्ने तयारी

spot_img

काठमाडौं,१४ वैशाख । नेपाली कांग्रेसले आज सोमबार संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने तयारी गरेको छ। यसका लागि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक र दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको छ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आजको बैठकको मुख्य एजेन्डा नै दलको नेता चयन हो। सभापति गगनकुमार थापा ले कार्यसम्पादन समिति बैठकमा सहमतिका आधारमा नेताको नाम प्रस्ताव गर्नेछन्, जसलाई पछि संसदीय दलको बैठकबाट अनुमोदन गरिने तयारी छ।

यसअघि निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी भए पनि अन्तिम समयमा स्थगित गरिएको थियो। अब भने सहमतिमै टुंग्याउने प्रयास अन्तिम चरणमा पुगेको बताइएको छ। कांग्रेसले २०६४ सालपछि पहिलोपटक सर्वसम्मत रूपमा दलको नेता चयन गर्न लागेको हो।

निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ का अनुसार सभापतिले घोषणा गरेको नामलाई प्रक्रिया पूरा गरी औपचारिक रूपमा अनुमोदन गरिनेछ। महामन्त्री गुरूराज घिमिरे ले पनि वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आवश्यकतालाई ध्यानमा राखेर निर्णय गरिने बताएका छन्।

तर, सभापतिबाट सीधै नाम घोषणा गरेर प्रक्रिया टुंग्याउने तयारीप्रति संस्थापनइतर समूहले असन्तुष्टि जनाएको छ। उक्त समूहले दलको नेता चयन संसदीय दलका सदस्यहरूको सार्वभौम अधिकार भएको भन्दै विधिसम्मत प्रक्रिया अपनाउनुपर्ने माग गरेको छ।

पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले सामाजिक सञ्जालमार्फत् ढिलाइ र अन्योलप्रति असन्तुष्टि जनाउँदै प्रक्रिया छिटो टुंग्याउन आग्रह गरेका छन्।

लामो समयदेखि अन्योलमा रहेको दलको नेता चयन प्रक्रिया आज टुंगिने अपेक्षा गरिएको छ, जसले कांग्रेसको आन्तरिक राजनीति र शक्ति सन्तुलनमा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय