काठमाडौँ,१८ वैशाख । नेकपा (एकीकृत समाजवादी) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले जनविरोधी र मजदुरविरोधी नीतिहरू अवलम्बन गरेको आरोप लगाउँदै नसच्चिए कडा आन्दोलन चर्किने चेतावनी दिएका छन्।
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले सय दिन नपुग्दै गलत बाटो समातेको दाबी गरे। उनका अनुसार सुकुम्बासी, मजदुर, ट्रेड युनियन अधिकार, रोजगारी र आवासजस्ता आधारभूत अधिकारप्रति सरकार उदासीन देखिएको छ।
उनले सरकारका पछिल्ला कदमहरू जनहित विपरीत भएको टिप्पणी गर्दै पार्टीका मजदुर संगठनलाई यस्ता नीतिहरूको डटेर विरोध गर्न निर्देशन दिएका छन्। साथै, सरकारलाई अझै सुधार्ने अवसर रहेको तर जनतालाई पीडा दिने काम जारी रहे मजदुर वर्ग सडक आन्दोलनमा उत्रिने चेतावनी दिए।
माधव नेपालले सुकुम्बासी हटाउने प्रक्रियामा उचित तथ्याङ्क र वैकल्पिक व्यवस्थापन बिना अघि बढ्नु गलत हुने बताए। उनले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको र नागरिक अधिकारमाथि अंकुश लगाउने प्रयास भएको आरोप पनि लगाए।
उनले अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको मूल नारा ‘विश्वका श्रमजीवीहरू एक होऔँ’ स्मरण गर्दै श्रमिक एकतामार्फत परिवर्तन सम्भव हुने उल्लेख गरे। फरक प्रसंगमा उनले देशको भूराजनीतिक संवेदनशीलता उल्लेख गर्दै नेपालले असंलग्न परराष्ट्र नीति कायम राख्नुपर्नेमा जोड दिए। कुनै पनि सैन्य गठबन्धनमा नजाने स्पष्ट गर्दै उनले राष्ट्रिय स्वाभिमानको रक्षा सबैको साझा जिम्मेवारी भएको बताए।
त्यस्तै, बढ्दो बेरोजगारी र युवाको विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै उनले शिक्षा प्रणालीलाई सीप र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याए। उनले मजदुर वर्गलाई समाज परिवर्तनको अग्रभागमा उभिन आह्वान गर्दै संघर्ष र परिवर्तनको नेतृत्व उनीहरूले नै गर्नुपर्ने बताएका छन्।

