बारा,१९ वैशाख । जीतपुरसिमरा उपमहानगरपालिकाको कडा निर्देशनपछि सिमरा बजार क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण गरिएका सटरहरू अन्ततः खाली गरिएको छ। सिमराको मुख्य बजारदेखि नगर अस्पतालतर्फ जाने सडकछेउ रामजानकी मन्दिर नजिक रहेका सात वटा सटर व्यवसायीहरूले शुक्रबार स्वयं खाली गरेका हुन्।
उपमहानगरपालिकाले लामो समयदेखि सार्वजनिक जग्गा अतिक्रमण हटाउन प्रयास गर्दै आए पनि व्यवसायीहरूले अटेरी गरिरहेका थिए। पछिल्लो पटक वैशाख १८ भित्र सटर खाली नगरे सामान जफत गरिने चेतावनीसहित सूचना जारी भएपछि व्यवसायीहरू सटर छाड्न बाध्य भएका हुन्।
उक्त सटरहरूमा औषधि पसल, कपडा पसल र सैलुन सञ्चालन हुँदै आएका थिए। सार्वजनिक जग्गामा बनेका ती सटरबाट विगत सात वर्षदेखि रामजानकी मन्दिर व्यवस्थापन समितिले भाडा उठाउँदै आएको बताइएको छ।
शुक्रबार बिहान उपमहानगरका अधिकृत रमेश सुवेदीको नेतृत्वमा नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली सटर खाली गराउन पुगेको थियो।
यसअघि सटर खाली गराउने निर्णयविरुद्ध केही व्यवसायी अदालत पुगेका थिए। व्यवसायी बिमला अधिकारीले उच्च अदालत वीरगन्जमा रिट दायर गरेपछि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो। तर वैशाख ११ गते न्यायाधीशद्वय जगतबहादुर थापा र निर्मला शाक्यको संयुक्त इजलासले उक्त आदेश खारेज गरेपछि उपमहानगरपालिकालाई सटर हटाउने बाटो खुलेको हो।
उपमहानगरपालिकाले अदालतको अन्तिम निर्णय नआउँदासम्म ती सटरमा ताला लगाएर राख्ने जनाएको छ।

