नवीकरणबिनै सञ्चालनमा ३ दर्जन खेल संघ

spot_img

काठमाडौं,२१ वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएका करिब तीन दर्जन खेल संघ नवीकरण नगरी सञ्चालनमा रहेको पाइएको छ। नियमअनुसार वार्षिक नवीकरण अनिवार्य भए पनि कतिपय संघले वर्षौंसम्म प्रक्रिया पूरा नगरेरै सरकारी सहयोग र गतिविधि सञ्चालन गर्दै आएका छन्।

नेपाल ह्याण्डबल संघ, नेपाल कबड्डी संघ र नेपाल एथलेटिक्स संघजस्ता पुराना संघहरू समेत हालसम्म नवीकरण नभएको अवस्थामा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्। केही संघले सरकारी आर्थिक सहयोगमै प्रशिक्षण तथा प्रतियोगिता आयोजना गरेका छन्।

राष्ट्रिय खेलकुद नियमावली २०७९ अनुसार खेल संघहरूले प्रत्येक वर्ष वार्षिक प्रतिवेदन, लेखापरीक्षण, गतिविधि विवरण र भावी योजना सहित नवीकरण गर्नुपर्ने व्यवस्था छ। तर आर्थिक वर्ष सकिन लाग्दा पनि ३६ वटा खेल संघले नवीकरण नगरेको राखेपको तथ्यांकले देखाएको छ।

पूर्व सदस्य सचिव रमेशकुमार सिलवालले निष्क्रिय संघहरूलाई निश्चित समयसीमा दिएर नवीकरण नभए खारेज गर्नुपर्ने बताए। उनका अनुसार खेल संघहरूको मुख्य उद्देश्य खेल विकास, खेलाडी उत्पादन र गतिविधि विस्तार हुनु हो।

राखेप सदस्य सचिव रामचरित्र मेहताले खेल संघहरूमा देखिएको विवाद, दोहोरो संरचना र निर्वाचन नगर्ने प्रवृत्तिका कारण समस्या जटिल बनेको बताए। केही संघमा चाँडै निर्वाचन गराउने र आवश्यक परे तदर्थ समिति गठन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

खेलकुद विकास ऐनअनुसार एक खेलमा एक मात्र आधिकारिक संघ रहने, प्रत्येक चार वर्षमा निर्वाचन गर्नुपर्ने तथा कम्तीमा चार प्रदेशमा संरचना विस्तार भएको हुनुपर्ने व्यवस्था छ। तर यी मापदण्ड पूरा नगर्ने संघहरूकै संख्या बढ्दो देखिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय