काठमाडौं,२५ वैशाख । सरकारले देशका आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
उपकुलपति छनोट तथा सिफारिस समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरेको हो।
सूचनाअनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय मा उपकुलपति पद रिक्त रहेको छ।
समितिले आजदेखि १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध लिंकमार्फत आवेदन पेश गर्न आग्रह गरेको जनाएको छ।
यसअघि सरकारले अध्यादेशमार्फत ती विश्वविद्यालयका पदाधिकारीहरूलाई पदमुक्त गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो।
उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले वैशाख २४ गते एकीकृत कार्यविधि स्वीकृत गरेको थियो। उक्त कार्यविधि पनि मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको समितिले जनाएको छ।


