हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकताको सहमति, श्रम संस्कृति पार्टीमा सुदन ‘वरिष्ठ नेता’ बन्ने

spot_img

काठमाडौं,२५ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किराती बीच पार्टी एकताको सैद्धान्तिक सहमति भएको छ। लामो समयदेखि जारी छलफलपछि दुई नेताबीच सहकार्य गर्ने समझदारी बनेको स्रोतले जनाएको छ।

प्रारम्भिक सहमतिअनुसार सुदन किराती श्रम संस्कृति पार्टीमा ‘वरिष्ठ नेता’ को भूमिकामा रहनेछन्। यद्यपि संगठनात्मक एकतामा सहमति जुटे पनि वैचारिक र सैद्धान्तिक विषयमा थप छलफल जारी रहेको बताइएको छ।

एकतालाई औपचारिक घोषणा गर्न आज दिउँसो ३ बजे काठमाडौंको बागबजारस्थित हार्दिक होटल मा पत्रकार सम्मेलन आयोजना गरिएको छ। सुदन किरातीका सहयोगी हेमन्त किरातीका अनुसार पत्रकार सम्मेलनमार्फत एकताका आधार, उद्देश्य र आगामी राजनीतिक कार्यदिशाबारे जानकारी गराइनेछ।

पूर्व पर्यटनमन्त्री समेत रहेका सुदन किराती पछिल्लो समय विभिन्न राजनीतिक उतारचढावबाट गुज्रिरहेका थिए। माओवादी आन्दोलनबाट राजनीतिमा उदाएका उनी पछिल्लो चरणमा जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध भएका थिए। तर प्रतिनिधिसभा निर्वाचनपछि उनले उक्त पार्टीको साधारण सदस्यतासमेत त्यागेका थिए।

धरानका मेयरसमेत रहेका हर्क साम्पाङ र सुदन किरातीबीचको यो नयाँ राजनीतिक समीकरणले विशेषगरी वैकल्पिक राजनीतिको क्षेत्रमा नयाँ बहस र चासो सिर्जना गरेको छ। पत्रकार सम्मेलनपछि दुई नेताको साझा राजनीतिक एजेन्डा र पार्टीको आगामी रणनीति थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय