चितवन,२५ वैशाख । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशाला को निर्माण कार्य भुक्तानी नपाएपछि ठप्प भएको छ। निर्माण कम्पनीले करिब १० करोड रुपैयाँ भुक्तानी बाँकी रहेको भन्दै विगत १५ दिनदेखि काम पूर्ण रूपमा रोकेको जनाएको छ।
रंगशालाको निर्माण गरिरहेको हिमालयन कालिञ्चोक बिबिआर जेभी का व्यवस्थापक विजय ढकालका अनुसार गत पुस र फागुन महिनामा दुई पटक बिल पेश गरिए पनि रकम निकासा नभएपछि काम रोक्न बाध्य भएको हो। निर्माण कम्पनीले भुक्तानीका लागि बिल भरतपुर महानगरपालिका मा पेश गरेको थियो। महानगरपालिकाले भने प्रदेश सरकारबाट आउनुपर्ने रकम ढिला भएकाले भुक्तानी गर्न नसकिएको जनाएको छ।
ठेक्का सम्झौताको अवधि सकिन करिब सात महिना बाँकी रहँदा हालसम्म रंगशालाको भौतिक प्रगति ५० प्रतिशतभन्दा केही बढी मात्रै पुगेको छ।
निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर प्रविन क्षेत्रीका अनुसार पहिलो टावरको अधिकांश काम सम्पन्न भइसकेको छ भने दोस्रो टावरको तेस्रो तलाको संरचना निर्माण भइरहेको थियो। साथै प्याराफिट, विद्युत, भूमिगत पाइपिङ, ड्रेनेज तथा मैदानको पूर्वाधार निर्माणको काम पनि अगाडि बढिरहेको अवस्थामा काम रोकिएको हो।
निर्माण कम्पनीले तोकिएको समयभित्र काम सम्पन्न गर्न कठिन हुने भन्दै म्याद थपको तयारीसमेत गरेको छ। तर, भुक्तानी निकासा भएपछि मात्रै थप प्रक्रिया अघि बढाइने जनाएको छ।
२०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच २०८३ पुस २२ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी ७५ करोड ५० लाख रुपैयाँभन्दा बढीको सम्झौता भएको थियो। यसअघि धुर्मस–सुन्तली फाउन्डेसन ले ५ हजार दर्शक क्षमता भएको प्याराफिट निर्माण गरिसकेको थियो। अहिले थप १० हजार दर्शक क्षमता विस्तारसहित अन्य भौतिक पूर्वाधार निर्माण भइरहेको छ।
रंगशाला निर्माण लागतको ७० प्रतिशत प्रदेश सरकारले व्यहोर्ने सहमति भए पनि संघीय सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन नगर्दा परियोजना प्रभावित बनेको छ।


