बीरगन्ज,२५ वैशाख । चितवन कारागारबाट फरार भएकी एक भारतीय नागरिकलाई प्रहरीले बीरगन्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा लागुऔषध मुद्दामा सजाय भोगिरहेकी ७० वर्षीया रुवेदा खातुन उर्फ सुशीला देवी रहेको प्रहरीले जनाएको छ।
गत भदौ २५ गते भएको जेनजी प्रदर्शनका क्रममा चितवन कारागारबाट चार जना नाबालकसहित कुल ७४३ जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये ११ जना भारतीय नागरिक पनि रहेको कारागार प्रशासनले जनाएको छ।
कारागार प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार हालसम्म ६४० जना कैदीबन्दी सम्पर्कमा आएका छन् भने अझै १०३ जना फरार छन्। फरारमध्ये अधिकांश लागुऔषध, जबर्जस्ती करणी तथा दुर्लभ एकसिँगे गैँडा चोरी–सिकारीसम्बन्धी मुद्दाका दोषी रहेको जानकारी दिइएको छ।
कारागार प्रशासनले फरार कैदीबन्दीलाई असोज २० गतेभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो। तोकिएको अवधिभित्र उपस्थित नभए कानुनअनुसार थप कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ। यस्तै, फरार कैदीलाई आश्रय दिने वा लुकाउन सहयोग गर्ने व्यक्तिमाथि पनि कानुनी कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।




