spot_img

माटिअर्वा छोटी भन्सारमा सिडिओको छड्के अनुगमन

spot_img
spot_img

बारा,२६ वैशाख । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कलैया उपमहानगरपालिका–१० स्थित माटिअर्वा छोटी भन्सार कार्यालयमा छड्के अनुगमन गरेका छन्। सीमावर्ती क्षेत्रमा सेवाग्राहीबाट अनधिकृत रकम असुली भइरहेको गुनासो बढेपछि अनुगमन गरिएको जनाइएको छ।

अनुगमनका क्रममा भारतीय नम्बर प्लेटका सवारीसाधनका लागि एकदिने पास इजाजत लिन आएका सेवाग्राहीसँग रकम उठाइरहेको आशंकामा प्रदीप साह नामक व्यक्तिको जाँच गरिएको थियो। जाँचका क्रममा उनको साथबाट नगद फेला परेपछि प्रमुख जिल्ला अधिकारी मिश्रले उनलाई चेतावनी दिएका छन्।

यसैबीच अनुगमनकै क्रममा भन्सार कार्यालयका केही बिल नम्बर अभिलेखमा फेला नपरेपछि प्रमुख जिल्ला अधिकारी मिश्रले चासो व्यक्त गरेका थिए। उनले हराइरहेका बिल तत्काल खोजी गर्न, बिल क्रमबद्ध रूपमा काट्न तथा सम्पूर्ण अभिलेख सुरक्षित र व्यवस्थित राख्न निर्देशन दिएका छन्।

स्थानीयका अनुसार भन्सार क्षेत्रमा लामो समयदेखि अनधिकृत रकम असुली भइरहेको गुनासो आउने गरेको थियो। सोही विषयलाई ध्यानमा राख्दै प्रशासनले आकस्मिक अनुगमन गरेको हो।

प्रमुख जिल्ला अधिकारी मिश्रले सेवाग्राहीलाई दुःख दिने तथा गैरकानुनी रूपमा रकम असुल्ने गतिविधि सहन नसकिने चेतावनी दिँदै यस्ता कार्यमा संलग्नमाथि कडा कारबाही गरिने बताएका छन्।अनुगमनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवँर, सशस्त्र प्रहरी बलका अधिकारीहरू तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय