spot_img

बरियारपट्टी छोटी भन्सार फिर्ताको माग गर्दै हुलाकी मार्ग अवरुद्ध, सांसद समेत आन्दोलनमा

spot_img
spot_img

बीरगन्ज,२६  वैशाख । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयविरुद्ध स्थानीयवासी, व्यापारी तथा राजनीतिक दलका प्रतिनिधिहरूले आन्दोलनलाई थप तीव्र बनाएका छन्। आन्दोलनको तेस्रो दिन शनिबार प्रदर्शनकारीहरूले हुलाकी राजमार्ग अवरुद्ध गर्दै र्‍याली तथा कोणसभा गरेका छन्।

नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीयस्तरमा विरोध सुरु भएको हो। स्थानीयको दाबी छ कि उक्त निर्णयले सीमावर्ती व्यापार, राजस्व संकलन र समग्र आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्नेछ।

शनिबारको आन्दोलनमा बजार परिक्रमा र्‍यालीसहित कोणसभा गरिएको थियो। कार्यक्रममा सहभागी मधेश प्रदेशका सांसद तथा पूर्वमन्त्री संजय यादव ले भन्सार कार्यालय बन्द गर्नु गलत नीति भएको भन्दै कडा आपत्ति जनाए। उनले बरियारपट्टी क्षेत्र व्यापारिक रूपमा तीव्र विकास भइरहेको उल्लेख गर्दै व्यवस्थित रूपमा सञ्चालन भए यो नाका ठूलो राजस्व केन्द्र बन्न सक्ने दाबी गरे।

उनले सरकारले सेवा विस्तार गर्नुपर्ने अवस्थामा उल्टै सेवा कटौती गरेर जनतालाई प्रभावित बनाएको आरोप लगाउँदै निर्णयलाई “राजनीतिक प्रतिशोध” को संज्ञा दिए। साथै नीतिगत भ्रष्टाचारको आशंका समेत व्यक्त गरे।

आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले ‘छोटी भन्सार फिर्ता गर’, ‘अर्थमन्त्री होसियार’ लगायतका नारा लगाउँदै विरोध जनाएका थिए।

यसअघि बिहीबार करिब पाँच घण्टा हुलाकी मार्ग अवरुद्ध गर्दै आन्दोलनकारीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए। शुक्रबार पनि बजार बन्द र सडक अवरुद्ध गर्दै आन्दोलन जारी राखिएको स्थानीय नेता दिपेन्द्र यादवले बताए। आन्दोलनकारीहरूले वैशाख २७ गते दिनभर बजार बन्द र मसाल जुलुस गर्ने तथा वैशाख २८ गतेदेखि अनिश्चितकालीन आमहड्तालको तयारीका लागि छलफल गर्ने बताएका छन्।

शनिबार बिहानदेखि बरियारपट्टी चोक क्षेत्रमा सडकको बीचमा अवरोध राखेर हुलाकी मार्ग अवरुद्ध गरिएको छ, जसका कारण पूर्व–पश्चिम आवागमन प्रभावित भएको छ र यात्रुहरूलाई सास्ती भएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय