काठमाडौं,२६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल ले समाजका ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, अनुभव र सिपलाई नयाँ पुस्ताले उपयोग गर्न सक्नुपर्नेमा जोड दिएका छन्।
शनिबार मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकका असल अभ्यासलाई पाठ्यक्रम, अन्तरक्रिया तथा विभिन्न शैक्षिक माध्यममार्फत नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताए।
उनले सक्षम र इच्छुक ज्येष्ठ नागरिकलाई उत्पादनमुखी गतिविधिमा सहभागी गराउने तथा उनीहरूलाई सम्बन्धित नीति निर्माण र सामुदायिक तहका निर्णय प्रक्रियामा अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गरे।
राष्ट्रपति पौडेलले नेपाल क्रमशः वृद्ध जनसङ्ख्याको अवस्थामा प्रवेश गरिरहेको उल्लेख गर्दै यसलाई चुनौतीसँगै अवसरका रूपमा लिनुपर्ने बताए। युवा जनशक्तिको विदेश पलायन र रोजगारी चुनौतीका बीच ज्येष्ठ नागरिकको अनुभवलाई उपयोग गर्न सके देशलाई फाइदा पुग्ने उनको भनाइ थियो।
उनले ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक जीवनयापन, स्वास्थ्य सेवा र आवश्यक सुविधा पाउनु उनीहरूको मौलिक अधिकार भएको पनि स्पष्ट पारे। पारिवारिक विखण्डन, वैदेशिक रोजगारी र शहरीकरणका कारण धेरै ज्येष्ठ नागरिक एक्लोपन र कठिनाइमा परिरहेकोप्रति उनले चिन्ता व्यक्त गरे।
राष्ट्रपति पौडेलले सम्मेलनलाई पुस्ताबीच ज्ञान र अनुभव आदानप्रदानको सेतुका रूपमा उपयोग गर्न सकिने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना पनि दिए।
उनले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको योगदान स्मरण गर्दै उनी सरल, सादगी र दूरदर्शी नेता भएको उल्लेख गरे। साथै नेपालमा बहुदलीय लोकतन्त्र स्थापनाका लागि विभिन्न राजनीतिक शक्तिबीचको सहकार्यमा मनमोहन अधिकारीको महत्वपूर्ण भूमिका रहेको पनि स्मरण गरे।




