spot_img

पर्साको सखुवनियामा ५० बिघा वन अतिक्रमण हटाइयो

spot_img
spot_img

बीरगन्ज,२६ वैशाख । पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ स्थित सखुवनिया टाँडी टोलमा अतिक्रमण गरी प्रयोग हुँदै आएको करिब ५० बिघा राष्ट्रिय वन क्षेत्र खाली गरिएको छ।

डिभिजन वन कार्यालय पर्सा तथा विन्ध्यवासिनी कोइलाभार साझेदारी वन उपभोक्ता समितिको संयुक्त कारबाहीमा शुक्रबार डोजर प्रयोग गरी उक्त क्षेत्रमा लगाइएको धान, मकै र तरकारी खेती हटाइएको हो। स्थानीयहरूले लामो समयदेखि सो वन क्षेत्र अतिक्रमण गरी खेती गर्दै आएको पाइएको वन कार्यालयले जनाएको छ।

वन कार्यालयका अनुसार राष्ट्रिय वन र नम्बरी जग्गाबीचको सिमाना स्पष्ट पार्दै अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको हो। खाली गरिएको क्षेत्रमा भविष्यमा पुनः अतिक्रमण रोक्न खाडल (ट्रेन्च) खनेर सीमा छुट्याइएको छ भने केही दिनभित्र तारबार गर्ने तयारी पनि गरिएको छ।

विन्ध्यवासिनी कोइलाभार साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष रिजवान अन्सारीका अनुसार अतिक्रमित क्षेत्र पहिचान गरी सीमा निर्धारणपछि कारबाही अघि बढाइएको हो। उनले वन संरक्षण अभियानलाई निरन्तरता दिइने बताए।

सब डिभिजन वन कार्यालय सखुवनियाका रेन्जर विजय यादवका अनुसार दुईवटा डोजर प्रयोग गरी अतिक्रमित क्षेत्र खाली गरिएको हो। कारबाहीका क्रममा वन कर्मचारी, साझेदारी वन प्रतिनिधि तथा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको प्रहरी टोली समेत परिचालन गरिएको थियो।

वन कार्यालयले सार्वजनिक वन क्षेत्रको संरक्षणलाई प्राथमिकता दिँदै अतिक्रमण हटाउने अभियान अझ प्रभावकारी बनाइने जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय