बीरगन्ज,२६ वैशाख । बीरगन्ज महानगरपालिकाले लामो समयदेखि निष्क्रिय रहेका करिब ८८ सहकारी संस्थाको दर्ता खारेज गर्ने प्रक्रिया अघि बढाएको छ।
महानगरका विभिन्न वडामा सञ्चालनमा रहेका ती सहकारीहरू लामो समयदेखि कुनै कारोबार नगरेको, विवरण नबुझाएको र सम्पर्कविहीन अवस्थामा रहेको पाइएको महानगरले जनाएको छ।
आर्थिक विकास महाशाखाले शुक्रबार सूचना जारी गर्दै सहकारी ऐन तथा नियमावलीअनुसार बुझाउनुपर्ने मासिक प्रगति प्रतिवेदन, वार्षिक साधारण सभाको निर्णय, लेखापरीक्षण प्रतिवेदन तथा कोपोमिस प्रणालीमा विवरण प्रविष्ट नगर्ने सहकारीहरू कारबाहीको दायरामा पर्ने जनाएको छ।
महानगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिलकुमार कर्णका अनुसार सहकारी ऐन २०७४ को दफा ६६ (उपदफा ३) अनुसार खारेजी प्रक्रिया अघि बढाइएको हो।
त्यस्तै, उपदफा ४ बमोजिम सम्बन्धित सहकारीलाई ३५ दिनभित्र स्पष्टीकरण दिन भन्दै सूचना जारी गरिएको छ। तोकिएको समयभित्र सम्पर्कमा नआउने सहकारीहरूको दर्ता स्वतः खारेज हुने महानगरले स्पष्ट पारेको छ।
महानगरले सहकारी क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन यो कदम आवश्यक भएको जनाएको छ।




