बीरगन्ज,२६ वैशाख । बीरगन्ज महानगरपालिका–१० मा शनिबारदेखि चौथो वडास्तरीय क्रिकेट टुर्नामेन्ट सुरु भएको छ। प्रतियोगिताको उद्घाटन पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानु ले गरेका हुन्।
ठाकुरराम बहुमुखी क्याम्पसको महिला छात्रावास खेलमैदानमा घडिअर्वा स्पोर्ट्स क्लबको सहकार्यमा वडा नम्बर १० कार्यालयले प्रतियोगिता आयोजना गरेको हो।
उद्घाटन कार्यक्रममा सांसद कानुले आफ्नो कार्यकालदेखि सुरु गरिएको यो प्रतियोगिता लगातार चार वर्षसम्म सञ्चालन हुनु खुसीको विषय भएको बताए। उनले खेलकुदले युवालाई सकारात्मक दिशामा लैजाने र प्रतिभाशाली खेलाडी उत्पादनमा सहयोग पुग्ने उल्लेख गरे।
प्रतियोगिताको उद्घाटन समारोहमा आयोजित मार्च पासमा विभिन्न विद्यालयहरूको सहभागिता रहेको थियो। जसमा लिटिल एन्जल्स इंग्लिश बोर्डिङ स्कूल पहिलो, माउण्ट मकालु इंग्लिश बोर्डिङ स्कूल दोस्रो र रामचरण साह–पन्नालाल मावि तेस्रो भएका थिए।
प्रतियोगितामा वडा नम्बर १० का ८ टिमको सहभागिता रहेको छ। फाइनल खेल जेठ २ गते हुने आयोजकले जनाएको छ।
कार्यवाहक वडाध्यक्ष सन्तोष जैशी चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी–व्यवसायी, जनप्रतिनिधि, सामाजिक अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।




