काठमाडौं,२७ वैशाख । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले लगातार ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) ६ महिनाका लागि निलम्बन गर्न सिफारिस गरेको छ।
कार्यालयका अनुसार ती चालकहरूले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो। यसका लागि यातायात व्यवस्था विभाग लाई औपचारिक रूपमा पत्राचार गरिएको जनाएको छ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नवराज अधिकारी का अनुसार पटक–पटक कारबाहीमा पर्दासमेत नियम उल्लङ्घन दोहोर्याउने चालकहरूमाथि कडा कदम चाल्नुपरेको हो।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सकिने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।
प्रहरीका अनुसार केवल जरिवाना तिराएर मात्र ट्राफिक अनुशासन कायम गर्न कठिन भएपछि लाइसेन्स निलम्बनजस्तो कडा उपाय अपनाइएको हो। निलम्बनमा परेका चालकहरूले आगामी ६ महिनासम्म कुनै पनि सवारीसाधन चलाउन पाउने छैनन्। ट्राफिक प्रहरीले यस कदमले काठमाडौं उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।




