काठमाडौं,२७ वैशाख । नेकपा एमालेका नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकहरूको ज्ञान, अनुभव र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
आइतबार मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै उनले बदलिँदो सामाजिक परिवेशमा पुरानो पुस्ताको ज्ञानलाई नयाँ पुस्तासम्म पुर्याउनु ठूलो चुनौती भएको बताए।
पोखरेलले ज्येष्ठ नागरिकलाई समाजको अमूल्य सम्पत्ति र ज्ञानको स्रोतका रूपमा व्याख्या गर्दै उनीहरूको सम्मान, संरक्षण र सामाजिक सुरक्षा सबै पक्षको जिम्मेवारी भएको उल्लेख गरे।
उनका अनुसार प्रतिष्ठानले सरकार, स्थानीय तह र विभिन्न संस्थासँग सहकार्य गर्दै ज्ञान हस्तान्तरण, व्यावसायिक तथा प्राविधिक शिक्षा प्रवर्द्धन, र ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्नेछ। उनले मनमोहन स्मृति प्रतिष्ठानलाई प्रदेश र जिल्लास्तरमा विस्तार गर्दै लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनमा योगदान दिएका व्यक्तित्वहरूको विचार र योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने योजना पनि रहेको जानकारी दिए।




