spot_img

पथलैया–अमलेखगन्ज सडकमा वन्यजन्तु सुरक्षाका लागि दुई ओभरपास प्रस्ताव

spot_img
spot_img

बीरगन्ज,२८ वैशाख । पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने त्रिभुवन राजपथको पथलैया–अमलेखगन्ज सडक खण्डमा वन्यजन्तुको सुरक्षित आवतजावत सुनिश्चित गर्न दुई वटा ओभरपास निर्माणको प्रस्ताव गरिएको छ।

सडक विभागले त्रिभुवन राजपथ विस्तारको तयारी अघि बढाएपछि निकुञ्ज प्रशासनले वन्यजन्तु मैत्री पूर्वाधार निर्माण गर्न सुझाव दिएको हो। पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण तथा सूचना अधिकृत सन्तोषकुमार भगतका अनुसार निकुञ्ज प्रशासन, नेपाली सेना, स्थानीयवासी तथा अन्य सरोकारवालासँग सुझाव मागिएपछि ओभरपास निर्माणको प्रस्ताव पेश गरिएको हो।

निकुञ्ज प्रशासनले विशेषगरी पथलैयादेखि अमलेखगन्जसम्मको करिब ८ किलोमिटर सडक खण्डमा कम्तीमा दुई स्थानमा ओभरपास आवश्यक रहेको जनाएको छ। उक्त क्षेत्र वन्यजन्तुको अत्यधिक आवागमन हुने संवेदनशील मार्गका रूपमा चिनिन्छ।

यो सडक खण्ड जंगली हात्तीको परम्परागत पदमार्गभित्र पर्ने भएकाले बर्सेनि हात्तीको समूह राजमार्ग पार गर्दै आवतजावत गर्ने गर्छ। विशेषगरी साउन–भदौ महिनामा पूर्वी क्षेत्रबाट आउने हात्तीसमेत यही मार्ग प्रयोग गर्ने भएकाले सवारी साधन र वन्यजन्तु दुवैका लागि दुर्घटनाको जोखिम बढ्ने गरेको निकुञ्जको भनाइ छ।

निकुञ्ज प्रशासनका अनुसार एउटै ओभरपास निर्माण गर्दा वन्यजन्तुको प्राकृतिक मार्ग प्रभावित हुन सक्ने भएकाले दुई खण्डमा संरचना निर्माण गर्न उपयुक्त हुने सुझाव दिइएको हो। यसो गर्दा वन्यजन्तुले आफूलाई अनुकूल पर्ने मार्ग सहज रूपमा प्रयोग गर्न सक्नेछन्।

प्रस्तावअनुसार ओभरपास बाहेकका क्षेत्रमा घेराबेरा गरिनेछ, जसले वन्यजन्तुलाई निश्चित मार्ग प्रयोग गर्न बाध्य बनाउनेछ। यसबाट वन्यजन्तु राजमार्गमा नआउने र दुर्घटनाको जोखिम पनि घट्ने अपेक्षा गरिएको छ।

यस क्षेत्रमा यसअघि सवारी साधनसँग ठोक्किएर बाघ, चित्तल, बाँदर, बँदेललगायत वन्यजन्तु मरेका घटनासमेत सार्वजनिक हुँदै आएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय