spot_img

सखुवाप्रसौनीमा शैक्षिक सुधार, २५ शिक्षकको सरुवा तथा दरबन्दी मिलान

spot_img
spot_img

वीरगन्ज,२८ वैशाख । सखुवाप्रसौनी गाउँपालिका ले नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण कदम चालेको छ। गाउँपालिका शिक्षा समितिले पालिकाभित्र कार्यरत करिब २५ जना शिक्षकको सरुवा तथा दरबन्दी मिलान गरेको छ।

गाउँपालिकाका अनुसार शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन विद्यालयको आवश्यकता, शिक्षकको योग्यता र अनुभवलाई आधार बनाएर जिम्मेवारी पुनः वितरण गरिएको हो।

लामो समयदेखि एउटै विद्यालयमा कार्यरत रहेका केही शिक्षकलाई नयाँ विद्यालयमा पठाइएको छ भने क्षमता र योग्यताका आधारमा केहीलाई उच्च तहमा अध्यापन गराउने अवसर समेत दिइएको शिक्षा शाखाले जनाएको छ। विशेषगरी प्राथमिक तहका केही शिक्षकलाई माध्यमिक तहमा अध्यापन गराउने गरी व्यवस्थापन गरिएको छ।

शिक्षा शाखाका प्रमुखका अनुसार यस कदमले शिक्षकको क्षमता उपयोगमा सुधार ल्याउने र विद्यार्थीले दक्ष शिक्षकबाट गुणस्तरीय शिक्षा प्राप्त गर्ने अपेक्षा गरिएको छ। साथै, केही विद्यालयमा स्थायी शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारीसमेत दिइएको छ।

स्थानीय अभिभावकहरूले लामो समय एउटै शिक्षक एउटै विद्यालयमा रहँदा शिक्षण वातावरणमा नवीनता कमी भएको र शैक्षिक गुणस्तर प्रभावित भएको गुनासो गर्दै आएका थिए। सोही गुनासोलाई सम्बोधन गर्दै नयाँ ऊर्जा र सुधार ल्याउने उद्देश्यले यो सरुवा तथा दरबन्दी मिलान गरिएको गाउँपालिकाले जनाएको छ।

सखुवाप्रसौनी गाउँपालिका मा ६ वटा वडा रहेका छन् भने हाल २९ वटा विद्यालय सञ्चालनमा छन्। तीमध्ये ५ माध्यमिक, ४ निम्न माध्यमिक र २० प्राथमिक विद्यालय छन्।

गाउँपालिका अध्यक्ष यशवन्त यादव ले गुणस्तरीय शिक्षा प्रदान गर्न गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै शैक्षिक सुधारका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए। उनले बालबालिकाको उज्ज्वल भविष्यका लागि शिक्षा क्षेत्रमा निरन्तर सुधार अपरिहार्य रहेको धारणा राखे।

यो सरुवा तथा दरबन्दी मिलानलाई स्थानीय तहमा शैक्षिक सुधारतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ, जसले आगामी दिनमा विद्यालयहरूको शिक्षण वातावरण र शैक्षिक उपलब्धिमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय