वीरगन्ज,२८ वैशाख । पोखरिया प्रादेशिक अस्पताल मा एक्स–रे र प्याथोलोजी ल्याब सेवा महिनौँदेखि बन्द हुँदा उपचारका लागि आउने बिरामीहरू गम्भीर समस्यामा परेका छन्। उपकरण बिग्रिएको र मर्मत नहुँदा अस्पतालको सेवा प्रवाह नै प्रभावित बनेको छ।
अस्पतालमा रहेको एक्स–रे मेसिन करिब तीन महिनादेखि र ल्याबका उपकरण दुई महिनादेखि बिग्रिएर बन्द अवस्थामा छन्। सेवा ठप्प हुँदा दैनिक उपचारका लागि आउने बिरामीहरू निजी स्वास्थ्य संस्थाबाट महँगो शुल्क तिरेर सेवा लिन बाध्य भएका छन्।
पर्सा जिल्लाका सात स्थानीय तह—छिपहरमाई, धोबिनी, कालिकामाई, पटेर्वासुगौली, पकाहामैनपुर, सखुवाप्रसौनी र पोखरिया क्षेत्रबाट दैनिक करिब ३०० भन्दा बढी बिरामी उपचारका लागि यही अस्पतालमा आउने गरेका छन्।
सेवा अवरुद्ध भएपछि बिरामीहरूको गुनासो बढ्दै गएको छ। पोखरिया नगरपालिका–८ का फिरोज मियाँले एक्स–रे सेवा नहुँदा निजी सेन्टरमा महँगो खर्च गर्नुपरेको बताउँदै स्वास्थ्य बीमाको समेत उपयोग नभएको गुनासो गर्नुभयो। औषधि पनि सहज रूपमा नपाइने र कतिपय अवस्थामा बाहिरकै पसलबाट किन्न बाध्य पारिने आरोपसमेत बिरामीहरूले लगाएका छन्।
अस्पतालसँग जोडिएको अर्को चिन्ताजनक पक्ष पूर्वाधार र आर्थिक संकट रहेको छ। लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुखिन शमानी का अनुसार अस्पताललाई प्रादेशिक घोषणा गरेपछि प्राप्त भएको करिब ४ करोड रुपैयाँमध्ये ठूलो हिस्सा खर्च हुन नसकी फ्रिज भएको छ, जसले सेवामा प्रत्यक्ष असर पारेको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियार का अनुसार आर्थिक अभावका कारण बिग्रिएका उपकरण मर्मत गर्न सकिएको छैन। एक्स–रे मेसिन मर्मतका लागि करिब ७ लाख र ल्याब उपकरणका लागि करिब २ लाख रुपैयाँ आवश्यक भए पनि रकम उपलब्ध नभएको उहाँले बताउनुभयो।
त्यसैगरी, स्वास्थ्य बीमा बोर्डबाट करिब २० लाख रुपैयाँ बक्यौता नआएकाले औषधि खरिदसमेत प्रभावित भएको छ। केही कर्मचारी र चिकित्सकले महिनौँदेखि तलब नपाए पनि सेवा दिइरहेको अस्पताल प्रशासनले जनाएको छ।
सेवा अवरुद्ध हुँदा स्थानीयवासी र बिरामीहरूले तत्काल समाधानको माग गर्दै प्रदेश सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले नियमित र प्रभावकारी सेवा सञ्चालन नभएसम्म सर्वसाधारणले थप सास्ती भोग्नुपर्ने अवस्था रहने चेतावनी दिएका छन्।




