काठमाडौं,२७ वैशाख । अब किसान र साना व्यापारीले गोदाममा भण्डारण गरेको अन्न धितो राखेर बैंकबाट कर्जा लिन सक्ने भएका छन्। नेपाल वेयरहाउजिङ कम्पनी र लक्ष्मी सनराइज बैंक बीचको सहकार्यपछि यस्तो व्यवस्था कार्यान्वयनमा आएको हो।
कम्पनीका महाप्रबन्धक नरेन्द्रप्रसाद भट्टका अनुसार गोदाममा भण्डारण गरिएको अन्नलाई धितो मानेर ‘वेयरहाउस रिसिप्ट फाइनान्सिङ’ प्रणालीमार्फत कर्जा प्रवाह सुरु गरिएको छ। यसअन्तर्गत गोदाममा राखिएको अन्नको आधारमा जारी हुने गोदामघर रसिदलाई बैंकले धितोका रूपमा स्वीकार गर्नेछ।
यस योजनाअन्तर्गत पहिलो कर्जा शारदा छिन्नमस्ता ट्रेडर्स लाई स्वीकृत भइसकेको जनाइएको छ। भट्टका अनुसार विकसित मुलुकमा सामान्य मानिने यस्तो अभ्यास नेपालमा भने पहिलोपटक वाणिज्य बैंकमार्फत औपचारिक रूपमा सुरु गरिएको हो।
प्रणालीअनुसार किसान वा व्यापारीले सुरुमा आफ्नो अन्न नेपाल वेयरहाउजिङ कम्पनी को साइलो वा गोदाममा भण्डारण गर्नुपर्नेछ। त्यसपछि कम्पनीले गोदामघर रसिद जारी गर्नेछ र सोही रसिदका आधारमा लक्ष्मी सनराइज बैंक ले अन्नको बजार मूल्यको ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ।
हाल व्यक्तिगत ग्राहकले अधिकतम १५ लाख रुपैयाँसम्म र संस्थागत ग्राहकले २ करोड रुपैयाँसम्म कर्जा पाउन सक्ने व्यवस्था गरिएको छ। ग्राहकले कर्जा चुक्ता गरेपछि मात्रै धितोमा रहेको अन्न बिक्री वा निकासी गर्न पाइनेछ।
यो व्यवस्थाले किसानलाई उत्पादन तुरुन्तै सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ। बजारमा मूल्य बढेपछि मात्रै अन्न बिक्री गर्न सकिने भएकाले किसान र साना व्यापारी दुवैलाई लाभ पुग्ने विश्वास गरिएको छ।
भट्टले नेपालमा अझै वेयरहाउस रिसिप्ट फाइनान्सिङसम्बन्धी स्पष्ट नीतिगत व्यवस्था नभएको उल्लेख गर्दै नेपाल राष्ट्र बैंक ले स्पष्ट नीति ल्याए कर्जा प्रक्रिया अझ सरल र प्रभावकारी बन्ने बताएका छन्।
यस्तै, भविष्यमा वस्तु विनिमय बजार सञ्चालनमा आएपछि गोदामघर रसिद प्रणाली कमोडिटी बजारको महत्वपूर्ण आधार बन्न सक्ने अपेक्षा पनि गरिएको छ।




