हाल इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, प्रहरी प्रभागदेखि जिल्ला प्रहरी कार्यालयसम्मका धेरै कमान्डरहरू एक वर्षभन्दा बढी समय एउटै जिम्मेवारीमा रहेका छन् । इन्स्पेक्टर, डीएसपी, एसपी र एसएसपी तहका अधिकारीहरूको नियमित सरुवा हुन नसक्दा संगठनात्मक व्यवस्थापन प्रभावित भएको बताइएको छ ।
शेयर प्रकरणपछि तत्कालीन गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन शाहले नै गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । यही कारण देखाउँदै प्रहरी सरुवा प्रक्रिया रोकिएको स्रोतको दाबी छ ।
प्रहरी नियमावलीअनुसार एसपीसम्मको सरुवा अधिकार प्रहरी महानिरीक्षक (आईजीपी) लाई भए पनि व्यवहारमा गृह मन्त्रालयको सहमति आवश्यक पर्ने भएकाले निर्णय अघि बढ्न सकेको छैन । एसएसपी र डीआईजीको सरुवा भने गृहमन्त्रीस्तरीय निर्णयबाट हुने व्यवस्था छ ।
विशेषगरी काठमाडौं उपत्यकाका प्रमुख सुरक्षा निकायहरूमा सरुवाको चर्चा तीव्र बनेको छ । काठमाडौं, ललितपुर, अपराध अनुसन्धान कार्यालय तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय जस्ता युनिटलाई संगठनभित्र आकर्षक पोस्टिङका रूपमा हेरिन्छ ।
हाल ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीको कार्यकाल एक वर्ष पुग्न लागेको छ भने अन्य केही महत्त्वपूर्ण युनिटका प्रमुखहरूको पनि सरुवा समय नजिकिएको छ । पछिल्ला वर्षहरूमा काठमाडौंको कमान्ड लामो समय टिकाउन कठिन मानिने गरेको छ ।
काठमाडौं उपत्यकाको नेतृत्वका लागि एसएसपी दयानिधि ज्ञवाली, दिलिप घिमिरे, अजय केसी, प्रवीण धिताल, सुरेश काफ्ले र सुवास बोहोरालगायत अधिकृतहरूको नाम चर्चामा रहेको छ । विशेषगरी जेनजी आन्दोलन र चुनावी सुरक्षामा भूमिका निर्वाह गरेका अधिकृतहरूलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी भइरहेको चर्चा प्रहरी वृत्तमा छ ।
सरुवा रोकिँदा प्रहरीभित्र आन्तरिक प्रतिस्पर्धा र लबिइङसमेत बढेको बताइएको छ ।




