काठमाडौं,२८ वैशाख । मोरङको रतुवामाई नगरपालिका–२ घररुचोकस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बलका अनुसार आइतबार राति सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाको संयुक्त टोलीले उक्त रकम बरामद गरेको हो । बरामद रकम ५ सय दरका नोटका ४० बण्डल रहेको जनाइएको छ ।
भारतबाट मोटरसाइकलमार्फत नेपाल प्रवेश गर्दै गरेका व्यक्तिमाथि शंका लागेपछि सुरक्षाकर्मीले जाँच गर्न खोजेका थिए । त्यसक्रममा मोटरसाइकलको पछाडि बसेका व्यक्तिले बोकेको झोला घटनास्थलमै फालेर फरार भएका थिए ।
प्रहरीले झोला जाँच गर्दा त्यसबाट २० लाख भारतीय रुपैयाँ फेला परेको जनाएको छ ।
बरामद रकम आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।



