काठमाडौं,२८ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण, कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चार्जिङ स्टेशन सञ्चालनका लागि विद्युत लाइन जडान गरिदिने नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा उनीमाथि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
आयोगका अनुसार दासले ट्रान्सफर्मर राखेर लाइन सञ्चालन गर्ने प्रक्रिया पूरा भइसकेको अवस्थामा समेत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेका थिए । सोही क्रममा १ लाख ४० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको थियो ।
अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको दासले पछि पनि लाइन काटिदिने धम्की दिँदै रकम असुल गरेको अनुसन्धानबाट खुलेको जनाएको छ ।
अनुसन्धान पूरा भएपछि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत उनलाई १ लाख ४० हजार रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।




