काठमाडौँ,२८ वैशाख । यस वर्षको मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण भए पनि तापक्रम वृद्धि र चरम मौसमी गतिविधिका कारण विपद् जोखिम उच्च रहने अनुमान गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको “मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३” को मस्यौदाअनुसार करिब १९ लाखभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने देखिएको हो।
प्रतिवेदनअनुसार देशभर ४ लाख ५७ हजारभन्दा बढी घरधुरीका करिब १९ लाख ९७ हजार व्यक्ति मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्ने आकलन गरिएको छ। प्रभावितमध्ये ५२ प्रतिशत महिला र ४८ प्रतिशत पुरुष रहने अनुमान छ।
उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढेको छ भने तराई र तल्लो भेगमा बाढी, पहिरो, डुबान र आकस्मिक बाढीका घटना बढ्न सक्ने चेतावनी दिइएको छ। तापक्रम वृद्धि र तातो हावाको लहरका कारण दक्षिणी तराई क्षेत्र बढी जोखिममा रहने उल्लेख छ।
जोखिम समूहमा करिब १ लाख ६४ हजार बालबालिका, ४ लाख १५ हजार ज्येष्ठ नागरिक तथा झण्डै ४८ हजार अपाङ्गता भएका व्यक्ति रहेका छन्।
प्रदेशगत रूपमा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिमका केही जिल्लामा विपद् जोखिम बढी देखिएको प्राधिकरणले जनाएको छ। यसअनुसार स्थानीय तहलाई पूर्वतयारी, सुरक्षित स्थान पहिचान, राहत सामग्री तयारी र उद्धार संयन्त्र मजबुत बनाउन निर्देशन दिइएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष कर्णाली, लुम्बिनी, मधेस र कोशीका केही क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ। तर केही क्षेत्रमा भने सामान्यभन्दा बढी वर्षा पनि हुन सक्ने आकलन गरिएको छ।
त्यस्तै, देशभर अधिकतम र न्यूनतम तापक्रम दुवै औसतभन्दा बढी रहने सम्भावना रहेकाले गर्मीजन्य जोखिम पनि बढ्ने चेतावनी दिइएको छ।




