spot_img

गौतम माध्यमिक विद्यालय–अभिभावक विवाद मेलमिलापमा टुंगियो

spot_img
spot_img

बीरगन्ज,२८ वैशाख । बीरगन्ज महानगरपालिका–१२ स्थित गौतम माध्यमिक विद्यालयमा प्रवेश परीक्षा र भीड व्यवस्थापनका क्रममा उत्पन्न भएको विवाद आपसी छलफलपछि समाधान भएको छ। विद्यालय प्रशासन र अभिभावक पक्षबीच भएको सहमतिपछि घटना मेलमिलापमा टुंगिएको हो।

सहमति अनुसार नयाँ शैक्षिक सत्र २०८३ वैशाख १६ गतेदेखि सञ्चालन भइरहेको अवस्थामा वैशाख २१ गते विद्यालय परिसरभित्र प्रवेश परीक्षा लिइएको थियो। सोही दिन विद्यालय बाहिर ग्रीनसिटी सामुदायिक संस्थाद्वारा नाला सफाइ अभियान चलिरहेको कारण परिसरमा अभिभावकहरूको भीड बढेको थियो।

भीडभाडका बीच केही विद्यार्थी प्रवेश–कार्ड बिना विद्यालय पुगेपछि कक्षामा प्रवेशमा ढिलाइ भएको र केही समय बाहिर बस्नुपर्ने अवस्था बनेको थियो। यही विषयलाई लिएर अभिभावक र विद्यालय प्रशासनबीच असमझदारी सिर्जना भएको थियो।

पछिको छलफलमा विद्यालय प्रशासनले परिस्थितिवश भएको घटनाप्रति खेद प्रकट गर्दै सम्बन्धित विद्यार्थी र अभिभावकसँग उचित संवाद गरी सहज व्यवस्थापन गर्न नसकिएको स्वीकार गरेको छ। साथै, यसले विद्यार्थीमा परेको मानसिक असरप्रति पनि विद्यालयले क्षमायाचना गरेको छ।

दुवै पक्षले आगामी दिनमा यस्ता घटना नदोहोऱिने गरी समन्वय र संवादलाई मजबुत बनाउने सहमति गरेका छन्। विद्यालयलाई थप व्यवस्थित र विद्यार्थीमैत्री बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

सहमति–पत्रमा विद्यालयका तर्फबाट ललित कर्ण र रमेश कुमार शर्मा तथा अभिभावक पक्षबाट पिन्टु रौनियार र सन्तोष पटेलले हस्ताक्षर गरेका छन्। सहमति प्रक्रिया वीरगञ्ज महानगरपालिका–१२ का वडा अध्यक्ष नरेश प्रसादको उपस्थितिमा सम्पन्न भएको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय