बीरगन्ज,२८ वैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले गरिबी निवारण कोषअन्तर्गत सञ्चालनमा रहेका तथा स्थानीय तहमा दर्ता भएका सबै सामुदायिक संस्थालाई चौमासिक र वार्षिक प्रतिवेदन अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ।
नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार गरिबी निवारण कोषद्वारा प्रवर्द्धित सामुदायिक संस्था तथा साना पूर्वाधार विकास आयोजनासम्बन्धी सामान्य मार्गदर्शन, २०७५ अनुसार स्थानीय तहभित्र गठन भएका संस्थाहरूको घुम्ती कोष सञ्चालन र व्यवस्थापनको व्यवस्था गरिएको छ।
उक्त मार्गदर्शनको बुँदा नं. २.९ (९) अनुसार सामुदायिक संस्थाहरूले आफ्नो चौमासिक तथा वार्षिक प्रतिवेदन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मा पठाउनुपर्ने प्रावधान रहेको उपमहानगरपालिकाले जनाएको छ। यसैलाई कार्यान्वयन गर्दै उपमहानगरपालिकाले गरिबी निवारण कोषमार्फत सञ्चालित सबै संस्थालाई आवश्यक कागजात यथाशीघ्र तयार गरी सम्बन्धित निकायमा पेश गर्न अनुरोध गरेको हो।
सूचनाअनुसार आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो र दोस्रो चौमासिक प्रतिवेदन तथा संस्थाको अद्यावधिक विवरण अनिवार्य रूपमा बुझाउनुपर्नेछ। त्यस्तै, प्रतिवेदनको हार्ड कपी सामाजिक विकास शाखामा तथा सफ्ट कपी इमेलमार्फत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ।




